कुमार रम्तेल

तिमी आफैले केही गरे हुन्छ

अरूलाई उपदेश दिने समयमा
सबभन्दा ज्ञानी आफैलाई सम्झनु कहाँ हुन्छ
मृत्युभन्दा मृत्युसँगको डर र
दुःखभन्दा दुःख भोग्ने मन ठूलो हुन्छ ।

शान्त समुद्रमा माझी कुशल नहोला
चरित्रवान् व्यक्तित्वको जीवन सरल हुन्छ
आत्मालाई शान्ति दिने सङ्गीत भर
सङ्गीतमा जीवन मरणको आत्मरस हुन्छ ।

छायाँको लागि मात्र कहाँ सूर्य उदाउँछ
अरूको खेतको घाँस कहाँ सधैं हरियो हुन्छ
अदृश्य होला त जीवित प्राणीसँग बास बस्छ
इतिहास नभइदिएको भए कहाँ राजतन्त्र ढल्छ ।

सयौं नेपालीका व्यथाहरूले सगरमाथा छोएको छ
आमा बेहोस् छिन, विधवा र टुहुराको चित्कार सुन्दै
राष्ट्रियता विश्वसामु झुक्दै छ
अब तिमी आफैले केही गरे हुन्छ ।