Nepalikavita
सन्त थुलुङ
वादशाहको भद्दा शालिक
चोकमा उभिएको छ
वादशाहको भद्दा शालिक
वरिपरि फैलिएको छ
त्यसको नपुंशकता
कति ठिटलाग्दो उभिएको छ वर्तमान
विगतको हिंस्रक वादशाह
त्यसले समाएको
खियाले खाएको त्यो तरबार
अब, चम्कँदैन
कुनै निर्दोषको घाँटीमा
युद्धमैदानमा
ज्यानको बाजी थापेर
योद्धाहरूले
जब जितिदिए राज्य
भुइँमा खसेको
घाइते योद्धाको त्यही तरबार टिपेर
विजयको शङ्खघोश गर्दै
आफूलाई बहादुर सावित गर्न
आदेश दियो वादशाहले
मृत्युपछि आफ्नो शालिक उभ्याउन
अहिले पनि
म अनुभूत गरिरहेछु
त्यसको पत्थर आँखामा
लुकेको षड्यन्त्र
त्यसको छेउबाट
निर्दोष मान्छेहरूलाई
अँध्यारोमा तर्साइरहेछ
कुनै ख्याकले जस्तो
त्यसको ओठमा
अझै बाँकी छ कुटिल मुस्कान
त्यसको ढुङ्गे छातीमा
अझै बाँचेको छ बर्बर निरङ्कुशता
आँखामा छिपाएको छ
भद्दा कामुकता
अझै हाम्रो सपनामा
निर्णय टापहरू बजार्दै
हाम्रो छातीको बाटो भएर ओहोर-दोहोर गरिरहेछ
र, नाङ्गो तरबारमा
हाम्रै पुर्खाको आलो रगत चुहाउँदै
निरङ्कुश हुंकार गरिरहेछ
यसर्थ
फेरि पनि ब्युझिएर ढुङ्गाको सालिकबाट
हाम्रो सातो नखाओस् भनेर
हाम्रो स्वतन्त्रताको सपनालाई
ढङ्गे छातीमा कैद नगरोस् भनेर
यतिखेर उखेलिएको छ
वादशाहको सालिक
र, मिल्काइएको छ
कतै अनकन्टारमा
त्यो
चोकमा उभिएको
वादशाहको भद्दा शालिक
-ताप्लेजुङ, हाल काठमाडौं