जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण
गणतन्त्रको खेती: आन्दोलन कविता २०६३
भाग – १
(वैशाख १३, ०६३ सम्म प्राप्त मत्र)
(चैत्र २४, २०६२ देखि संचालित जनआन्दोलनको अभिलेख कविता सँगालो)
संयोजक
नेपालीकविता डट कमको लागि
विक्रम सुब्बा
(वरिष्ठ कलाकार किरण मानन्धरका चित्रहरू समेत राखेर यो सँगालो छिट्टै पुस्तकका रुपमा पनि प्रकाशित गरिनेछ)
विक्रम सुब्बा
(१) आन्दोलनको आगो
राजाको शासनमा
मानिसका मुखका पखेटा काटिए
सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो
दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो
मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए
तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे
र टायरहरूका चितामा जनताले दन्दनी आगो दन्काएको देख्दा
लग्थ्यो, दन्किँदो चितामा निरिह श्रीपेचलाई पोलिसकेकाछन्
राजाको शासनमा पँधेरा जाने बाटोलाई
हिँड्न निषेधित क्षेत्र भनि तोक लाग्यो
मानौँ बेसरम राजा त्यहाँ नाङ्गै नुहाईरहेको होस्
तर खुट्टाहरूले त जानेकै हिँडनु मात्र हो
हिँड्न निषेध भनेको बाटो हिँड्न झन मज्जा लाग्छ
र त मज्जा मान्दै जनताका महान पाइतालाहरू
निषेधित क्षेत्रको छाती टेक्दै बढेको देख्दा
लग्थ्यो, राजाको छाती कुल्चँदै जनताका पयरहरू
राजा बिनाको नयाँ नेपालतिर लम्कि सकेकाछन्
राजाको शासनमा
चुली चुचुरीमा घाम नलाग्दै शहरमा कर्फ्यु लाग्यो
विहानै लाग्यो, दिनभरि लाग्यो, रातभरि लाग्यो
उपत्यका र मोफसलमा लाग्यो
चोक-चोक र गल्ली-गल्लीमा लाग्यो
राजाको शासनमा घर-घरलाई कर्फ्युले जेल बनायो
हो, युगौँदेखि स्वाँठ राजाहरु कर्फ्यु लगाउँदै आएकाछन्
तर जनता कर्फ्युसँगै दरवारको ख्मबाहरू भत्काउँदै आएकाछन्
यसपल्ट फेरि दशैतिरबाट उर्लिएका जनताले
कर्फ्युको करङ तोडेर अघि बढेको देख्दा
लग्थ्यो, राजतन्त्रको हातखुट्टा र गर्धन तोडेर
जनता जनगणतन्त्र नेपालतिर बढी सकेकाछन् ।
(२) पीलो
निधारमै पीलो रहेसम्म
पीपैपीपले अनुहार लत्पतिने रहेछ
देख्दैछु म -
काठमाण्डौ, मुलुकको अनुहारमा बसेकोछ
र दरवार
सयौँ वर्ष देखि निधारमै पीलो भएर बसेकोछ ।
(३) नाटक
राजा र कलाकार दुवै नाटक खेल्छन्
राजाले जिन्दगीभर भद्रताको भूमिका खेल्नु पर्छ
कलाकारले - कहिले असल 'राजा'को
कहिले ‘हत्यारो’ जंगबहादुरको...
कहिले सत्र धार्नी ‘नाक-कान’ काट्ने महाराजाको, र
कहिले 'सन्काहा' राजा क्यालीगुलाको भूमिका खेल्छ ।
जब नाटकको कथामा 'सन्काहा' राजा हुन्छ
मंचमा निर्दोस मानिसको बेहाल-गाथा हुन्छ
असंख्य विधवा र टुहुराहरूको गीत रुन्छ
जमानाले मानिसका रगतले अनुहार धुन्छ
अति भएपछि जब ‘लन्जाइनस’को तरवार उठ्छ
तब ‘क्यालीगुला’को गर्धन छ्वाम्मै छिन्छ
गर्धनबाट छिनाईसकेपछि राजाकै टउको पनि
नयाँ युगले खेल्ने भकुण्डो बन्छ
अनि बिस्तारै नाटकको पर्दा खस्छ
त्यसपछि मलामीहरूको लस्करबाट
जर्नेल-समालोचकले नाटकलाई -
‘दुखान्त नाटक' नभने के भनोस्?’
(४) दिन आइसकेको छ
झ्यालहरू खोल शान्ति, ढोका उघारेर पर्दाहरू उठाऊ
उज्यालो जुलुसले उज्याला हातमा बोकेका
उज्याला झण्डाहरूलाई पस्न देऊ
लोकल हिटलरका कनसन्ट्रेशन क्याम्प ध्वस्त पार्ने
लोकतन्त्रका उज्याला नाराहरूलाई कोठामा पस्न देऊ
लडाइँका कथा पढिए धेरै युद्धका सिनेमा हेरिए
इन्क्लाबी कविता-गीत धेरै गाइए कोठाभित्र
विशुद्ध गायकहरूका मसाल-स्वर सडकमा सामेल छन्
कथाकारहरुले कथालाई गम्भीर मोड दिएर
खलनायकको गुरुयोजनालाई तिरिमिरि झ्याइँ देकाएका छन्
आन्दोलनको डढेलोले लपेट्दैछ दरबारका जारहरुलाई
कोठा भित्रभित्रै धेरै प्रेम रचियो
रोदीघरदेखि चौतारािसम्म जताततै पिरती खेलियो
हाल आएर गल्ली गल्लीमा देश-प्रेम छताछुल्ल भएको छ
देश प्रेमीहरू मुलुकमाराहरुका छातिमा
फाइलन खेलको निर्णायक प्रहार गरिरहेछन्
ककफाइटमा समेत दुबै पक्षले जित्ने नियम हुँदैन
यो त महान जनआन्दोलन हो
र आन्दोलित जनता हारेको सिठी कहिल्यै बजेको छैन
राम, बुद्ध र ईशूलाई पुज्ने जनताले
मानिसलाई उखेलेर फाल्न पनि जानिसकेका छन्
उखेलेर फालेपछि देउता पनि ढुंगा मात्र हुन्छ ।
फिक्रि नगर शान्ति,
हद्द भए अजै केही ज्यान जाला
तर लोकतन्त्रका सेनाहरुको लस्कर बहुत लामो छ
चिहान भन्दा पनि कालो शासनको आकाशमा
'आतङ्क'को सेटलाइट छाडेर आँखा छल्ने दिन गए
बन्दुकको वैशाखी टेकेर मुलुक
नयाव सताब्दीको दौडमा सामेल हुन सक्दैन
मुलुक सल्काएर चिलिम तान्ने डिक्टेटरहरू
भटाभट ढल्दैछन् दुनियामा
जो बाँकिछन् तिनको पनि दिन आइसकेको छ ।
(५) गणतन्त्रको खेती
भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु
दिदीले छोडेर गएको मुलुकमा
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती ।
भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु
आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर
गल्ली–गल्ली, सडक र चोक जोत्दै जाँदैछन्
फालि अडकाउँने दरबारका जग समेत जोत्दै जाँदैछन्
सातसमुद्र पारी र छिमेकक फिरङ्गी-मोडलका
ग्र्याण्डडिजाइन र रोडम्याप जोत्दै जाँदैछन्
जोतेको सियो र खनेको चपरीमा
आफ्नै रगतका वीउ हाल्दै जाँदैछन्
यो महान खन्–जोतबाट कोही आतङ्कित छन्
र एम्बेसीहरूका गोप्य प्राविधिक सहयोगमा
बचाउका काला बङ्कर तैयार गरिरहेछन्
तर गणतन्त्रको खेती गर्नेहरू
बङ्करहरू पनि जोत्दै–जोत्दै जाँदैछन्
भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु...
सम्बिधानका पन्ना–पन्नामा फलेका
गुलिया, चिप्ला र धारिला अक्षरहरू
भोक मार्ने मकै–भटमास बन्न सकेनन्
तसर्थ सुरु भएको छ गणतन्त्रको खेती
अनिल पौड्याल (काठमाण्डौ)
हामिले सुँगुर नपाल्दा के हुन्छ ?
खोरमा सहिसलामत राखेर
चारो भर्नु पर्ने/खुवाउनु पर्ने
खोर भत्काएर उसैले
उल्टै हामीलाई रुउनु पर्ने
वाँदरको पुच्छर लौरो न हतियार
स्वदेशको पिलो विदेशको मतियार
बरु टुकुचामा
खोर सहितै फाल्दा के हुन्छ ?
हामीले सुँगुर नपाल्दा के हुन्छ ?
कहिले चारो खान्न भनेर
कहिले खोरभित्र जान्न भनेर
उसले उल्टै घुर्क्याउँनु पर्ने
तिमी बराहको अवतार हौ
जाऊ/कटखाउ र सुत भन्दै
हामीले साँझविहान फुर्क्याउनु पर्ने
जसको मुल्य छैन
उसैलाई पाल्नु पर्ने
उल्टै निरीह बनेर
आफ्नै मन पगाल्नु पर्ने
सडक ढाकेर बनाएको
त्यसको खोर फाल्दा के हुन्छ
हामीले सुँगुर नपाल्दा के हुन्छ ?
अमर तुम्याहाङ (ताप्लेजुङ, हाल: भक्तपुर)
एक जुगमा आउने 'एक विहानी'
एक जुगमा आउने 'एक विहानी'
सुनामी भएर
अँध्याराका उपाशकहरूलाई निल्दै आयो
दासताका साङ्लो भिराउनेहरूलाई
धुलो चटाउँदै आयो
एक जुगमा आउने 'एक दिन'
आवाजहीनहरूको आवाज भएर आयो
दविएकाहरूको शक्ति भएर आयो
विश्वासका चौताराहरूमा माला लिएर
स्वागतमा लाम लागौँ
उठ्न बाँकी सबै जागौँ ।
एक जुगमा आउने 'एक दिन'
आशाको आँधी भएर आयो
उज्यालो झल्झलाकार भएर छायो
जनजनलाई छोएर यसले व्यूँझायो
एक जुगमा आउने स्वर्णिम विहानी आयो
सृजनाका सडक किनारामा
वसन्तका माला लिएर
स्वागतमा लाम लागौँ ।
उठ्न बाँकी सबै जागौँ ।
अब पनि सुत्नेहरूलाई
समयले चिहानमा हाल्नेछ
अब पनि फुट्नेहरूलाई
इतिहासले फोसिलमा ढाल्नेछ
कोला-कोला ! सबै उठौँ !
नयाँ विहानीको स्वागतमा !!
सबै लाम लागौँ !
अशेष मल्ल
राजन् तिमी हारिसक्यौ
राजन्
के तिमीलाई थाहा छ
तिम्रा महलका भित्ताहरू
चर्किसकेका छन्
र तिमी
केवल बन्दुकका पर्खालभित्र
बन्दुकका रक्षा कवचमा
एक्लो, एक्लो र एक्लो
निस्सासिएका छौ
पर्खालबाहिर
निहत्था आवाजहरू
तिम्राविरुद्ध
हावाकै बेगमा व्याप्त भइसके
गाउँ, बस्ती र सहरभरि
सलह सलह भएर
तिमीसँग केवल बन्दुक, बन्दुक र बन्दुक छन्
बन्दुककै घेराभित्र बन्दुककै सिरानी हालेर
कतिन्जेल शक्ति उन्माद बाँचिरहन्छौ
सुरक्षा कवचबिना
एक पल सास फेर्नु असम्भव छ तिम्रा लागि
बन्दुक छ र तिमी छौ
शक्ती उन्माद छ
निहत्था आवाजको भीडमा
तिम्रो उन्माद पराजित भइसके
सायद तिमीलाई थाहा छैन
तिमी हारिसक्यौ
संगीनका पर्खालहरूकै विजय हुने बए
स्द्दाम, हिटलर र कंशहरू
इतिहासभरि पराजय भोगेर
अक्षरहरूमा किन गन्हाउँथे
राजन्!
ईश्वरमणि अधिकारी (पोखरा)
खोपीका देवताहरू
खोपी छाड्नु हुन्न
खोपीका देवताहरू
सडक झर्नु हुन्न
चोक-चोकमा ठिङ्ग उभिएर
पूजा माग्न हुन्न देवताहरूले
सडक-सडकमा ठिङ्ग उभिएर
आरती खोज्न हुन्न देवताहरूले
मलाई खोपीका देवताहरूले
खोपी छाडेको मन पर्दैन
मलाई खोपीका देवताहरूले
पूजा मागेको पनि मन पर्दैन ।
देवता प्रतेकको मनमा हुन्छ
देवता प्रत्यकको तनमा हुन्छ
मन-मनमा देवता भएपछि
किन राख्छन् कुन्नी खोपीमा देवताहरू
र पनि
खोपीका देवताहरु
देवताकै प्रतिविम्बहरू हुन् भन्छन्
मलाई देवताको प्रतिबिम्बसम्म मन पर्छ
जो पूज माग्दैन
आरती खोज्दैन
नैवेद्य पनि रोज्दैन
पुजा पाएर पनि खुसि हुँदैन
पुजा नपाएर बेखुसी पनि हुँदैन
पूजा खोज्ने देवताहरू
देवता हुनै सक्दैनन्
नैवेद्य रोज्ने देवताहरू
देवता हुनै सक्दैनन्
जव/जव देवताहरू
निर्धक्क/निर्लज्जसित
पूजा खोज्न निस्कन्छन्
आसन डग्मगाउँछ – देवताहरूको
देवता रहन्नन् – देवताहरू
आस्था कमजोर हुन्छ – भक्तहरूको
भक्त रहन्नन् – भक्तहरू
र
भक्तहरू नै स्वयम
नास्तिक बन्छन्
खोपीका देवताहरू
खोपी छाड्नु हुन्न
खोपीका देवताहरू सडक झर्नु हुन्न ।
एस . खनाल (हाल: टेक्सास अमेरिका)
मेरि आमा हाँस्नेछिन
उ, हेर यतै आउँदै छ;
त्यो आगो को मुस्लो!
तिव्र वेगका साथ
दन्कँदै छ, फडफडाउँदै छ!
हो, यसपालि त,
यसले अबश्य जलाउँछ,
यो पुरानो निर्लज्ज पर्खाल!
साबधान!!
पानी हाल्ने कोशिस नगर।
यसपालिको आगो,
पानीले नै सल्किएको हो!
जति पानी खन्याउँछौ,
त्यति यो दन्कन्छ!
हेर त उ, यतै आउँदै छ;
गड्गडाउँदो भेल!
चट्टानलाई चिर्दै।
सुकेको खहरे सम्झनेहरु,
लौ हेर।
तिमीले रोक्नै नसक्ने बाढि
उर्लेर आउँदै छ।
साबधान!!
प्रयास नगर यसलाई रोक्ने!
यसपालीको भेल,
तिमीले रोकेर नै बल्झेको हो!
जति रोक्छौ,
त्यति जम्छ र अझ शक्तिवान बन्छ।
अनि फोर्छ यसले तिम्रो बाँध
अघि भन्दा अझ तिव्र बेगले!
लौ हेर, उडेर जाँदैछ
त्यो कालो बादल!
अब अन्धकार धेरै टिक्दैन।
हावा बहेको छ
तर हिजोअस्ति भन्दा विपरित!
बादललाई उडाउँदै छ
पर कतै तिर
अनकन्टार अन्न्तमा!
उ, तारा झिल्मिलाउँदै छन्!
बिस्तारै लाखौँ ताराले,
धरती झलमल पार्नेछन्!
अनि, भोलिको सुर्योदय संगै,
मेरि आमा हाँस्ने छिन!
उन्मुक्त हाँस्ने छिन!
स्वतन्त्र हाँस्नेछिन!
विमल निभा
काठमाडौंलाई घेर
विमल निभा
पूर्वबाट घेर
पश्चिमबाट घेर
उत्तरबाट घेर
दक्ष्ािणबाट घेर
काठमाडौंलाई घेर
---
प्रेमले घेर
साहसले घेर
उमेरले घेर
शान्तिले घेर
काठमाडौंलाई घेर
---
यताबाट घेर
त्यताबाट घेर
उताबाट घेर
जताबाट घेर
काठमाडौंलाई घेर
---
सुसेलीले घेर
गीतले घेर
कविताले घेर
कलाले घेर
काठमाडौंलाई घेर
---
छेउबाट घेर
परबाट घेर
अघिबाट घेर
पछिबाट घेर
काठमाडौंलाई घेर
---
नाराले घेर
जुलुसले घेर
शहादतताले घेर
आन्दोलनले घेर
काठमाडौंलाई घेर
---
एक भएर घेर
अनेक भएर घेर
सँगसँगै भएर घेर
हुल भएर घेर
काठमाडौंलाई घेर
---
रगतले घेर
आँसुले घेर
भोकले घेर
परिश्रमले घेर
काठमाडौंलाई घेर
---
यहाँ आएर घेर
उहाँ गएर घेर
जहाँ गएर घेर
सबै मिलेर घेर
काठमाडौंलाई घेर
---
समयले घेर
विचारले घेर
ज्ञानले घेर
विवेकले घेर
काठमाडौंलाई घेर
---
पयरले घेर
मुठीले घेर
दौडले घेर
हातेमालोले घेर
काठमाडांैलाई घेर
---
इतिहासले घेर
संस्कृतिले घेर
राष्ट्रियताले घेर
जनतन्त्रले घेर
काठमाडौंलाई घेर
---
काठमाडौंलाई नघेरेसम्म
काठमाडौंलाई मुक्त पार्न सकिँदैन ।
किशोर पहाडी
(१) कालो
कालो काल हो -
कालको कुनै टाउको हुँदैन,
चिप्लेकीरा जस्तै
आँखा, कान र मुख