विषय - सूची
हामी र हाम्रो परिचय
आव्हान
उदघाटनका कविताहरु
कविता संग्रहहरु
काव्य र खण्ड-काव्य
उत्कृष्ट कविताहरू
उत्कृष्ट राष्ट्रिय गीतहरु
उत्कृष्ट गीतहरु
उत्कृष्ट गजलहरु
कविता सम्वन्धी अन्य जानकारी
कविका तस्वीरहरु
उत्कृष्ट मुक्तकहरु
अङ्ग्रेजीमा अनुदित कविताहरु
नेपालीमा अनुदित कविताहरु
यस पुस्तकालयमा संसारभरि लेखिएका नेपालि कविताहरु सङ्ग्रहित हुनेछन्।
Untitled Document

अनुभूतिका थोपाहरू

(साना कवितासङ्ग्रह)

सुलोचना मानन्धर धिताल

विषय सूची  
रात
कृतज्ञता
जीवन र मृत्यु
ढुङ्गाको फूल
बोनसाई
जुलुस
जाजरकोट
खाना पकाउँदा-पकाउँदै
जीवन
पार्वती
लक्ष्मीपूजा
बाटो
धूवाँ र क्रान्ति
बच्चाहरू
रुखको उद्देश्य
भाग्यरेखा
महँगो इच्छा
निर्बोध नानीसँग
जनताको मन
झारहरू
फूल
आफ्नो माटो
धमिलो आकाश
अनिष्टता
गृहिणीको कविता
विगत
समयपीडा
मुक्तिको प्रयास
उज्यालो हुनु अगावै
साँझपख
भन्टाकोबोट
विषवृक्ष
समुद्र
युद्धको व्यापार
ग्रहण
नयाँ दिन
पुनर्यात्रा
दुइटा गुलाफ
आकाश
विस्थापित न्याय
रात-२
रात-३
रात-४
रात -५
कमलको फूलसँग
उत्सव
बुद्ध हुन नसकेको बुद्ध म
आशा
परिस्थिति
सत्य
विवशता
राजनीति
आफ्नै इतिहास
आमा
किशोरावस्था
रात-६
स्वीकारोक्ति
पूजा
डाक्टर


रात

रात, सुनसान छ
रात अँध्यारो छ
रात अघोर निन्द्रामा छ
रातलाई बिउँझाउन
सियोको टुप्पो भएर
मेरो सानो मनले निउ खोज्दै छ ।

ऊ मलाई सुत्न दिन्न
सुनसानमा एकाधिकार जमाउँछ,
कोट्याइरहन्छ
घोचिरहन्छ
चुहिरहन्छ
चुहिरहन्छ
रात टप्किरहन्छ-
टप टप टप... टप
आफ्नै मनको सियोले
घोपेको घाउबाट !

कृतज्ञता

हृदयले रोपेको बिरुवाले
मायाले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँच्चै नै चिन्न सक्छ र ?
कहिल्यै आफैँ अघि सरेर
आफ्नो मालीलाई सम्झेर
'धन्यवाद' भन्न सक्छ र ?

जीवन र मृत्यु

कठिन छ जिउन
थाहा पाउँदा-पाउँदै पनि
कति मूर्ख म
फेरि जीवन नै रोज्दै छु
मृत्युको साटो !

ढुङ्गाको फूल

प्रेमले रोपेको बिरुवामा
कतै ढुङ्गा फुलिदियो भने
आखिर बिचरो त्यो मालीको
दोष नै के

बोनसाई

तिम्रा इच्छाका तारहरूले
मलाई अझै बेर्र्दै छौ के ?
बेर,
जति बेर्न सक्छौ बेर
आखिर म त
'बोनर्साई' नै त हुँ !

जुलुस

जीवनका थुप्रै क्षणहरू
जुलुस बनिसकेछन्
अझै झुक्याउँदै
सिङ्गो जिन्दगीलाई
जुलुस
जुलुसै भएर सकिँदै छ ।

जाजरकोट

सिङ्गो पोखरीमा
विष घोलेपछि
के ठूलो माछा
अनि के सानो माछा
सबैलाई मर्नु नै त छ !

खाना पकाउँदा-पकाउँदै

म खाना पकाइरहेछु
कि
खानाले मलाई पकाइरहेछ ?
दाउरामा टाँसिएको जिन्दगी
बलिरहेछ
कि
डढिरहेछ ?

जीवन

जीवन
हरेक दिन
नयाँ भएर उदाउँछ
पुरानो भएर अस्ताउँछ
सूर्य सँगसँगै ।

पार्वती

म पार्वती
सत्य पति पाउने पूजामा
समर्पित उमेरले
आज
प्रसादको रूपमा
शिव प्राप्त गरेकी छु !

लक्ष्मीपूजा

सयौँपटक आफ्नै छेउबाट
आफ्नै नजिक र अगाडिबाट
वारपार गरेको अवसरलाई
भकुन्डो ठानी खेलेकी थिएँ
आज म त्यसैको
पूजा गर्दै छु- लक्ष्मी पूजा ।

बाटो

शून्य ठाउँमा
एउटा बाटो बनाएँ
बाटो न हो, त्यसलाई कुल्चेँ
हिँडे
गन्तव्यमा
म पुगेँ कि पुगिन
कुन्नि
म आफैँ नै बाटो भइसकेको पाएँ ।

धूवाँ र क्रान्ति

धूवाँ मलाई मन पर्दैन
पिरो पनि मन पर्दैन
क्रान्तिकारी हुनुको अर्थमा
धूवाँ र पिरो नै मात्र
खानु छ भने
भो अब पुग्यो मलाई
क्रान्ति ।

बच्चाहरू

जीवनका थोपाहरू
जब माटोमा टप्किरहन्छ
नयाँ जीवन लहराउँदै
हावामा फहराउँछन् ।

हावामा फहराएका पातको टुप्पाले
फेरि धर्तीलाई चुम्छ भनी
आशा गर्न सकिन्छ र ?

ऊ त
आकाशतिरै
तन-मनले बढिरहेको हुन्छ ।

रुखको उद्देश्य

रुखको उद्देश्य-
फुल्नु हो कि फल्नु ?
झ्यामिएर मोटाउनु हो कि
तनमनले आकाशतिर बढ्नु हो ?

रुखको उद्देश्य-
आखिरमा दिनु हो कि लिनु ?
अरूलाई छहारी मात्र दिने हो कि
टुक्रा-टुक्रामा विभाजित भई
मान्छेलाई खुसी पार्नु हो ?

धेरै रुखहरू- वाल्ल परेर उभिएका छन्
आफूलाई बुझ्नै नसकेर
बुझ्नै नसकेर ... ... ।

भाग्यरेखा

हिँडेको थिएँ,
म पनि आफ्नो भाग्य हेर्न
ज्योतिषको ऐना
आफैँ नै फुटेको रहेछ
फुटेको ऐनामा
भाग्य हेरुँ कि
आफ्नै हातमा
नयाँ रेखा कोरुँ ?

महँगो इच्छा

मेरो इच्छा महँगो छ,
गाँस र बास त यसै महँगो
शिक्षा महँगो
समानता महँगो
शान्ति त झन् कति महँगो ।
आमा-बाबुको माया पनि महँगो
महँगो हावा र पानीबीच
हरे ! सासै फर्ेन मात्र पनि
कति महँगो !

निर्बोध नानीसँग

उसका-आ आ... र मु मु
जस्ता बोलीहरू
जो अझै शब्द होइनन्
निर्मल,
निराकार पानीजस्ता
निष्कपट अभिव्यक्तिहरूसँग
म अलिकति माया साट्छु
आहा !
र्स्वर्गको अनुभूति त
यहाँ पो हुँदोरहेछ !

जनताको मन

सुकेका पात भएका छन्- जनताका मन
आशाले भिज्नै नसक्दा,
पानी कतातिर छ कुन्नि ?
पानी बोक्ने हातहरूले पनि
आज आगै बोकेका छन् ।

सानो आगोको बीउ मात्र खस्नुपर्छ
ह्वार्रै आगो बल्न मात्र
बाँकी छ
जनताको मन भन्नु अब
तिनै सुकेका पात भएका छन्,
जो दन्किन मात्र बाँकी छ ।

झारहरू

बारीमा बिरुवाहरू उम्रेका छन्
घाँस र झारहरू पनि बढेका छन्
रोपेका गुनिला बिरुवाहरूलाई
झयाप्पै छोप्ने गरी
झारहरू नै हुर्केका छन्
झारहरूले नै जितेका छन् ।

फूल

कोपिला
मेरी छोरी
मुसक्क मुस्काउँदै
साना हातका- दुइ फूलहरू
उपहार दिन्छे,
'एउटा मामुलाई
अर्को बुबालाई'
हातले बोकेको कोपिला पनि
मुसुक्क हाँस्छ
ऊजस्तै गरी
अनि आपसेआफ फुल्छ
आहा !
कति सुन्दर
मेरो प्रेमको फूल !

आफ्नो माटो

यस धर्तीकी छोरी म
आमाको एक टुक्रा काखलाई
आफ्नो बनाई हेरेँ
सपनाहरू रोपेँ

आशाका फूलहरू
आफसेआफ नै
ढकमक्क फुले ।

धमिलो आकाश

आकाश धमिलो छ
मनको आकाश पनि धमिलो छ
धमिलोमा
एकआपसलाई चिनिँदैन
आँखा पनि धमिलो छ
ऊ... ...
परबाट हिर्काएको ढुङ्गा
मेरो मुटुमा आई
बज्रेको छ,
उसको मन दुखेको छ कि छैन कुन्नि
मेरो मन दुखेर
टुक्रा भएको छ !

अनिष्टता

दिन उज्यालो र सफा भए पनि
किन अँध्यारोले नै छोपेको छ ?
दुष्कर्मको किञ्चित रङ्ग नभए पनि
किन यो मन यसै त्रस्त छ ?

सुविधासम्पन्न घरमा बसे पनि
किन अभावले अझै छोप्दै छ ?
ओहोरदोहोर मान्छेकै भीडमा पनि
किन आफूलाई एक्लो लाग्दैछ ?

गृहिणीको कविता

भान्छाको कुनामा
घैँटोको पानीमा
नानीको थाङ्नामा पनि
कविताहरू भुलभुलैया गरी जन्मिन्छन्
पानीको फोकाहरूझैँ
हरे ! मायाले टिपिदिने कोही नहुँदा
आफैँ नै एक-एक गरी
झरी जान्छन्
जङ्गलका फूलहरूझैँ
गृहिणीका कविताहरू !

विगत

यो वर्तमान
यो नयाँ दिन
वरदान हो समयको
विगत पार गरी यहाँ पुगेकाहरू
पुनः विगतमै फर्किने किन ?

फर्किने रहरै हो भने
विगतकै र्स्वर्गमा नफर्किने किन ?
हरे ! बल्ल पार गरी आएको
नर्कमै पुनः फर्किने किन ?

समयपीडा

तिमीले प्रसव पीडा
भोगेको छौ के ?
त्यो त सृष्टिको बेला मात्र भोगिन्छ
समयपीडा -
हरेक घडीमा
हरेक मोडमा
नयाँ पीडा भोग्नु छ
जसको उल्लेख कहीँ हुँदैन
जो एक्लैले मात्र भोग्नु छ ।

मुक्तिको प्रयास

माटो उप्कियो
जग नै पो हल्लियो
अहा ! झन्डै सासै पो रोकियो

कस्तो उथलपुथल यो
मुक्तिको प्रयास हँ ?

हरे ! आफ्नै हातमा मुक्ति पर्दा त
बासी भई सडिसकेको पो रहेछ !

उज्यालो हुनु अगावै

जागा रहेँ
उज्यालो पर्खेँ
अलिकति कसरत गरेँ- प्रेमको
प्रेमिकाको भूमिका
आमाको दायित्वमा
मनमनै गीत गाएँ

आत्मविश्वासमा
मनको पिँधमा
आफसेआफ अमृत रसायो

अमृतपानअघि मात्र
बाहिर हेरेँ-
क्षितिजबाट उज्यालो पोखिन त
अझै बाँकी रहेछ ।

साँझपख

पूर्वमा गोलो चम्किलो चन्द्र
पश्चिममा अझै रातो घाम
बादलै पनि रङ्गी-बिरङ्गी
कालो, सेतो, गुलाबी र रातो ।

टाढा
टाढाबाट कराएको
भेडाको भ्या...भ्या पनि
कति मीठो है यतिबेला !
सबै आफ्नो
संसारै आफ्नो
साँझ परिसकेको भए पनि !

भन्टाको बोट

मेरो खाली मन आफैँ भरिन्छ
बोटमा फलेका भन्टाहरू देख्दा
मैले के दिएको छु र उसलाई ?
उसले के मागेको छ मसँग ?

प्राण धान्न नभई नहुने
एक अँजुली पानी पनि
म दिन बिर्सन्छु हरे !

कति निष्कपट भन्टाको बोट
उसले त केवल दिन्छ
मात्रै दिइरहन्छ ।

विषवृक्ष

जतिपल्ट अगाडि पुगे पनि
जति बेला छोए पनि
विष रसाउँछ,
आकर्ष फलहरूजस्ता देखिने
विषका गोलाहरू
झयाम्मै फलेका
त्यो वृक्षलाई
खोई मैले त अँगाल्नै सकिन ।

समुद्र

आफू सौम्य र मौन रही
अनगिन्ती नदीहरूको स्वागतार्थ
सधैँ एकनासले पर्खिबस्ने
समुद्रको
कति लामो आयु !

युद्धको व्यापार

युद्ध छ
त्यसैले अनिकाल छ
अनिकालमा मान्छे पनि बेचिन्छ रे
मान्छे नै बाँकी नरहेपछि
युद्ध स्वयं बेचिन्छ कि ?
त्यसैले ... ...
अमान्छेहरू हो, युद्धलाई बाँकी राख
मान्छे जातिको नै मृत्यु भएपछि
बेचेर खान काम लाग्छ !

ग्रहण

अथाह तेज र शक्तिको प्रतीक
सूर्य
एउटा ध्रुवसत्य
सङ्कटमा छ ऊ आफैँ पनि
ग्रहण लागेको छ आज
के सूर्यभन्दा पनि शक्तिशाली हुन्छ-
सङ्कट !

नयाँ दिन

अनुभूतिले भरिएको
उथलपुथल एउटा ब्रहृमाण्ड बोकेर
अनुभव र ज्ञानको सिँढीमा
उक्लदै गरेको
एउटा तातो सासमात्र हो
यो मेरो नयाँ दिन !
यसमा नै
मेरो भविष्यका
कति बिजहरू थिग्रिएका छन्,
मेरा भोलि फल्ने क्षणहरू ... ... ।

पुनर्यात्रा

सेताम्मे भइसकेछ कपाल पनि
एउटा जुग नै बितिसकेछ,
एउटा यात्रा तेर्सिएको थियो भीरमा पनि
पाइला थाक्यो मन थाकेन
गन्तव्यमा पुग्नुअगाडि मात्र
यहाँ प्रलय भएको छ
बाटो नै पुरिएको छ
अब यात्रा कतातिर -
एउटा सीमाको अन्तरपछि
यात्रा पुनः आरम्भ हुन्छ
जीवनको स्वाभाविक बाटोमा
साँचो यात्रा त बल्ल सुरु हुँदैछ !

दुइटा गुलाफ

लगातारको साउने झरी
स्याउँस्याउँ झुसिल्किराहरूका बीच
एउटै बोटमा दुइटा गुलाफ
मात्र दुइ गुलाफ फुलेका छन्
दुष्ट झुसिल्किराले पातहरू सबै
चपाइसक्दा पनि
आपसमा मुस्काउन सक्ने ती फूलसँग
मलाई इष्र्या लाग्यो
हाम्रो प्रेमभन्दा पनि गाढा रहेछ
यी दुइबीचको प्रेम !

आकाश

आधा मात्र जून छ
र पनि खुसीले चम्केकै छ
उसलाई साथ दिने हो कि मलाई ?
असङ्ख्य ताराहरू पनि चम्केकै छन्
रात आफैँ अँध्यारो भए पनि
मनभित्र उज्यालो पसेको छ - आज
घरभरिमा म एक्लो भए पनि
मन खुसीले छाएको छ
म फेरि किन आफूलाई
एक्लो र खाली ठान्छु अब
सिङ्गो आकाश नै मसँग भएपछि !

विस्थापित न्याय

पानी भई मिसिन खोजेको थिएँ
त्यो मन त हरे सिसा पो रहेछ
त्यसैमाथि थोप्लिएरै पनि
भिज्नै खोजेको थिएँ
नरम अनि निर्मम
दुवै हातहरूबाट
पुछिसकेकी रहेछु !

रात-२

रात !
गर्भवती आमा हुन्
नपत्याए पर्खिबस
भोलि बिहानै सूर्य जन्माउँछिन् उनले ।

रात-३

रात पोखिएको छ
अँध्यारोमा
कुकुरहरू भुकिरहेछन्
कुकुरकै राज्य त होइन यो भनी
आफूलाई छामी हेर्छु मान्छेको ढुकढुकी
अझै रहेछ आफूसँग
समय निस्सासिएको बेला पनि !

रात-४

फेरि एकपल्ट सुत्न चाहन्छु
एउटा नयाँ सपना देख्नलाई
रात,
मेरो त्यो मीठो निन्द्रा फर्काइदेऊ न !

रात -५

छालझैँ उर्लिरहेछ रात
किनारा छोड्दै टाढा-टाढा जान खोज्दैछ
रातलाई तानेर म वशमा राख्न खोज्छु,
अहँ रात त पुनः किनारा भत्काउँदै
विद्रोह गर्दैछ !
बिहानी उसको लक्ष्य हो कि !

कमलको फूलसँग

सुन्दर कमलको फूल हौ तिमी
हिलो माटोसँग घृणा गर्र्छौ किन -
यो त तिमीलाई नै हर्ुकाउने
त्रि्रै आमा होइन र -

उत्सव

क्याक्टस !
ऊ जीउभरि काँडा लिएर बाँचेको छ
एकदिन अचानक उसमा सुन्दर फूल फुल्यो
आहा ! ऊ दिल खोलेर हाँस्यो
म पनि सँगैसँगै हाँसे
काँडा फूलमा परिणत भएको देखेर !

बुद्ध हुन नसकेको बुद्ध म

सडकमा अलपत्र पोखिएका वृद्धहरू
रोगीका त के कुरा !
असंख्य मृत्युका बाढीहरू
आफैँमाथि छोपिँदै आउँदा पनि
केवल नाङ्गो आँखाले टुलुटुलु हेर्दै
विवश सुस्केराहरू पोको पार्दै
आह ! यो युगको सजाय भोग्दैछु म
बुद्ध हुन नसकेकेा एक बुद्ध भएर !

आशा

चकमन्न अँध्यारो रातको
कालो महासागर तरेर
मेरो सानो झ्यालबाट
सुट्ट कोठामा पस्ने
द्वितीयाको जून हो- मेरो आशा !

परिस्थिति

काला अँध्यारा
बाक्ला र ढिक्का परेका
बादलहरूलाई छिचोलेर
चम्कँदै सुट्ट बाहिर निस्कने चन्द्रसँग
एकपल्ट सोध्न मन लाग्यो-
मेरो पनि
त्यस्तै बाटो छ कि कतै ?

सत्य

हरेक झिसमिसेमा
अँध्यारोलाई चिर्दै
घाम बाँड्न
र्सर्ूय आफैँ नै ओर्लन्छ पृथ्वीमा र्
कर्तव्यमा तल्लीन सूर्यलाई
के दोष ?
अँध्यारोमा रमाउने झ्याउलाई
घाम पुगेन भनेर !

विवशता

हिलोमा धस्सिएका
अन्धा पाङ्ग्राहरू देख्दा दया लाग्थ्यो-
गति लिन नजानेका
बिचरा अन्धा पाङग्राहरू,
यिनीहरू युगलाई चिन्दैनन्
जब म स्वयं नै
हिलोमा धसिन्छु
युगको घाउ आफैँभित्र चर्किन्छ
यो संसार पनि दयाविहीन लाग्छ ।

राजनीति

इमानको घेरालाई
लात हानेर
भत्काइसकेपछि
राजनीनि त खुल्ला मैदान भएछ
उन्मत्त साँढेहरूको एकलौटी रजाइँ गर्ने !

आफ्नै इतिहास

हिँडेको छु
डोब कतै देखिँदैन
पानीमा पो यात्रा गरिएछ कि !
समयलाई टेकी हिँडेको थिएँ
त्यो पनि बगेरै गइसक्यो कि !

आमा

मेरी आमा
एक ढिक्का पवित्र माटो
उनीसँगको नाता भन्नु
आफैँ एउटा जीवन हो
मूल्याङ्कन कहाँ सम्भव हुन्छ र !

किशोरावस्था

हिसी पर्दै
हुर्कँदै गरेको मकैको बोटमा
अचानक मेरो आँखा पर्छ,
बिहानै उसले शीतको आँसु झार्छ
सँगै मेरो मन पनि व्यथित हुन्छ ।

रात-६

निन्द्रा लागेको बेला
रात ओढेर सुत्छु म,
रात आफैँ काँडाझैँ बिउँझेको बेला
उसैसँग रातभरि कुरा गरी बस्छु
दुःख-सुखका
न रात थाक्छ, न म !

स्वीकारोक्ति

सयौँपल्ट प्रण गरिसकेँ
अबदेखि दुखाउँदिन भनेर
अहो ! नदुखाउन झन् कति गाह्रो,
लुकी बस्ने मलाई त त्यसरी दुख्छ भने
बाहिर त्यसै अलपत्रिएको
बिचरो त्यो ढुङ्गाले
झन् कसरी खप्दो होला
उसमाथिका हजारौँ बज्रपातहरू !

पूजा

अलिकति नैवेद्य
नरिवल र मिस्रीका टुक्राहरू
अनि उसैले दिएका
सुन्दर र सुवासिला फूलहरू
चुँडाएर,
अझ टुक्रा-टुक्रा पारेर
आफ्नै निम्ति
सुख, सुरक्षा र आयुसमेत
साट्न खोज्ने भक्तहरू देख्दा
बिचरा ! भगवान्को पनि दया लाग्छ
हरे ! ऊ झन् कति रमाइलो !

डाक्टर

डाक्टर !
सुन्दर कविता हो,
अपरेसन तिम्रो
जो तिमी चक्कुले लेख्छौ
डाक्टर !
कुशल कवि हौ
तिमी मेरो
जो जीवनकै कविता लेख्छौ !

 
  नेपाली कविता  डट कमको     
  पहिलो इन्टरनेट त्रैमासिक