ग्रहहरू बिन्ति गर्छन् पुरोहितले ढाँटे ।।
पुरोहितको बुद्धि हेर निक्री लिने जुक्ति ।
एउटी गौले बाह्रजग्गा कहिले हुन्थ्यो मुक्ति ।।
~
धर्म सम्झी विचार गरी इन्साफ हेरेन ।
पैसा धेरै पायौ भने बेर त लाएन ।।
कुल त हाम्रो ब्राम्हण नै हो छैनौ कुलैमा ।
जात त हाम्रो सत्य छैन राख चुलैमा ।। (योगवाणी,१२)
~~
सै वातको अर्थ नलाई धर त पाएनौ ।
पैसा धेरै पायौ भने बेर त लाएनौ ।।
धर्म थाम्ने इन्साफीले विचार है गरून् ।
कुन कुन जातले जुन जुन ल्याउँछ जातमा मिलाउन् ।।(योगवाणी,१३)
अन्त्य कालमा त्यो घुसले फटाउला धाँजा ।
बडो कष्ट मिली जाला त्यो घुस निस्की जाँदा ।।
अहिले मात्र पचेको छ भरे पच्ने छैन ।
सम्झी राख सत्य बचन् झुट्टा हुने छैन ।। (योगवाणी,२४)
~~
ब्राह्मणले सत्य धर्म सब छाडी दिए ।
जगतमा भ्रष्ट कर्म सब गर्दा भए ।।
त्राहि त्राहि पर्यो प्रभू झुट्टा कर्मैले ।
सारा लोक्मा छाड्यो प्रभू साँच्चा धर्मैले ।।
~~
सरकारका अड्डा अदालत रहेका ।
लोकको नियाँ हेर्न राखि दिएका ।।
लोभले गर्दा धर्मको नष्ट पारी ।
नियाँ त्यसको थियो लियो घुस हकारी ।।
दोहोरो दण्ड त्यसैमा लगायो ।
थियो जित्ने मुद्दा त्यो मुद्दा हरायो ।।
~~
थितिदेखि बेथिति त भएकै छ अहिले ।
त्यही थिति बिग्रिनाले बिन्ती गरेँ मैले ।।
~~
अहिले मात्र पचेको छ, भरे पच्ने छैन,
सम्झी राख सत्य वचन झुटो हुने छैन ।।
~~
महाराज छन् दरबारमा हेर्न आउँदैनन् ।
दुःखी जनले नियानिसाफ सिधा पाउँदैनन् ।।
जागिरदार लोभी छन् न्याय हेर्दैनन् ।
मर्नु पर्ने शरीर हो विचार गर्दैनन् ।। (योगवाणी, १५१-१५२)
~ योगमाया न्यौपाने ~
Yogmaya Neupane
सर्वार्थ योगवाणी (प्रथम प्रकाशन: वि.सं.१९९५ पूर्व)
प्रथम नेपाली कवयित्री तथा समाज सुधारक योगमाया न्यौपाने (वि.सं. १९२४ - १९९८) को "सर्वार्थ योगवाणी" नामक एक कविता संग्रह प्रकाशित छ। निरङ्कुश राणाशासनमा उनले राजनीति तथा समाज सुधारका लागि बुलन्द आवाज उठाएकी थिइन् । त्यसैको खातिर वि.सं. १९९८ असार २२ गते उनले अरुण नदीमा जलसमाधि लिइन् । उनको साथमा कुल ५९ देखि ६८ जना महिला पुरुषले जलसमाधि लिएका थिए ।
योगमाया बारेमा प्रकाशित कृतिहरु:-
*'योगमाया '(२०७४) (मदन पुरस्कार विजेता उपन्यास ) - निलम कार्की निहारिका
*‘अमर ज्योति योगमाया' - डा .दिपेश न्यौपाने
*‘योगमायाको जीवनी र योगदान’ (२०७९) (सम्पादन -लेखनाथ भण्डारी)
*‘नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी’ (२०८०) - मातृका तिम्सिना
*'सामाजिक आन्दोलनकी अग्रणी तथा कवि योगमाया'-लेख संकलन/प्रकाशक नेपाल अध्ययन केन्द्र
* 'नेपाली सन्त परम्परामा योगमाया र सर्वार्थ योगवाणी'- मातृका तिम्सिना
* 'समाज सुधारक योगमाया '-डा. गोविन्दमानसिंह कार्की
* 'बहुमुखी व्यक्तित्वकी धनी योगमाया '- लेख संकलन/प्रकाशक नेपाल स्रष्टा समाज
* 'योगमाया शक्तिपीठ तपोभूमि' -कविता चापागाईं
* 'योगमाया र उनको अदम्य साहस' -बमबहादुर थापा
* 'सामाजिक जागरणमा महिला विद्रोहको प्रस्थान विन्दु' -लेखनाथ भण्डारी
* 'योगमाया र उनका वाणीहरू' -प्रकाशक चन्द्रबहादुर बस्नेत
* 'Heir to a Silent Song: Two Rebel Women of Nepal' - बारबरा निम्री
* 'सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया'-निनु चापागाईं