नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको बिशेष अवसरमा महाभारतको दर्शनमा आधारित मेरो प्रकाशोन्मुख उपन्यास (*** - ईश्वरको दृष्टिबाट महाभारत चियाउँदा)को एक अंश
~ मिलन लम्साल नाविक ~ July 13, 2025
कृष्ण
“हुन त ईश्वर माथी विश्वास गर्नु नगर्नु मान्छेको आफ्नो इच्छा हो । जस्तो कि खाना खानु वा नखानु, काम गर्नु वा नगर्नु, कहिँ जानु वा नजानु इत्यादी कुराहरु मान्छेले सामान्यतया आफ्नो स्वविवेकले छनौट गर्न सक्छ । तर स्वतन्त्र रुपमा स्वविवेक प्रयोग गर्यो भन्दैमा त्यसरी गरेको निर्णय सहि नै हुनु पर्छ भन्ने चाहिँ छैन। केहि मान्छेले बिश्वाश नगरे पनि यो ब्रमाण्डमा ईश्वरको अस्तिव छ र रही रहने छ; त्यो प्रमाणित कुरा हो ।
यदि स्वविवेक प्रयोग गरी मान्छेले आफुले बाँचुन्जेल कहिल्यै खाना नखाने निर्णय गर्यो भने केहि हप्ता वा महिना पश्चात उसको जीवनको अस्तित्व नै रहँदैन | त्यस्तै यदि स्वविवेक प्रयोग गरि मान्छेले बाँकी जीवनमा कहिल्यै काम नगर्ने निणर्य गर्यो भने बिस्तारै उ सँग बाँच्नुको उदेश्य नै हराउँदै जान्छ | त्यसै गरि यदी कसैले आफू स्वतन्त्र रुपमा ईश्वरको विश्वास गर्दिन भन्छ भने त्यसको अर्थ यो जगतमा ईश्वर नै छैनन् भन्ने लाग्दैन, बरु त्यो मानब आफू ईश्वरबाट टाढीदै छ भन्ने चाहिँ जरुर लाग्छ । जस्तो कि मान्छेले खाए पनि नखाए पनि खानाको र गरे पनि नगरे पनि कर्मको यो धर्तिमा महत्व र अस्तित्व दुवै छ।”
शायद हामी कुनै जंगलमा थियौं त्यतिखेर । कृष्णजी मन्द मुस्कानमा मलाई जीवन दर्शन अवगत गराउँदै हुनुहुन्थ्यो ।
मैले बोलिमा सोधे: "कृष्णजी, ईश्वरको साँच्चै अस्तित्व हुन्थ्यो भने दुनियाँमा यत्रा भोका नाङ्गा मान्छे किन बाँकी रहन्थे, किन मानिसहरु खाना र पानी कै अभाव अकालमा मर्थे, किन मानिसहरु असल मन र सहयोगी कर्म गर्दा गर्दै पनि कुटिल मान्छेको षडयन्त्रको जालमा फँस्थे र बर्बाद बनाईन्थे ।"
मैले अझ जोड दिँदै थपें “ल एक छिनलाई मानौं यो ब्रह्माण्डमा ईश्वरको साँच्चै अस्तित्व छ अरे, तर यदि गरिब दुखिको सहायता गर्न समयमै ईश्वर आईपुग्नु हुन्न भने त्यसको के महत्व भयो र? तपाईले भन्नु भएको ईश्वरको महत्व र अस्तित्व दुवै छ भन्ने कुराको तात्पर्य के हो ?”
त्यतिखेर उहाँको विराट स्वरूप थिएन, त्यै भएर पनि सबै कुरा खुरुखुरु पत्याई हाल्ने स्थिति पनि थिएन। तर केशमा मुजुरको प्वाँख, साधारण सफा चिटिक्क मिलेको धोति, हातमा समाएको बाँसुरी, अनि कालो कालो बर्णमा उहाँ साँच्चिकै फोटोमा देखिने कृष्ण झैँ देखिनु हुन्थ्यो । त्यस माथि प्रश्नै पिच्छे मुसुक्क हाँस्ने उहाँको बानीले उहाँको स्वरुपलाई बिहानीलाई सुर्यको प्रकासले खुलाए झैँ खुलाएको थियो। मैले नमाने पनि उहाँमा एक किसिमको आकर्षण थियो जसले मलाई उहाँ तर्फ नजानिँदो किसिमले तानी रहेको थियो।
उहाँले फेरी उही चिर परिचित मुस्कान छोड्दै भन्नु भयो "नाविक जी, तपाईंको प्रश्न यो होइन कि ईश्वरले कसैलाई किन केहि गरे वा गरेनन, अथवा किन केहि गरे पनि समय मै गरेनन्, अहिलेलाई तपाईंको प्रश्न यो हो कि ईश्वर आफैँमा छन् कि छैनन् । त्यो ईश्वरको व्यवहार सम्बन्धि प्रश्नमा पछि हामी पुग्ने छौँ ।"
अनि उहाँले चोरी औँलाले माथी आकाश तिर देखाउँदै थप्नुभो "अहिलेलाई उ त्यहाँ माथी हेर्नुस, तारा देख्नु हुन्छ कि हुन्न ? तिनीहरु मध्ये कुनै ठुला कुनै साना देखिन्छन, कुनै बढी चम्किला, कुनै कम चम्किला देखिन्छन । अझ तिनीहरु मध्ये कुनै एकछिन देखिन्छन, अनि फेरी एकै छिनमा बिलाएर जान्छन । कुनै केहि समय पछि झन् बढी चम्किला हुँदै आउँछन् "
अनि म तिर हेर्दै भन्नु भयो "तपाई आफैँ नाविक, अब कल्पना गर्नुस यो आकाश एउटा महासागर हो, अनि तपाईं त्यहाँ एउटा डुंगामा एक्लै विचरण गर्दै हुनुहुन्छ, अब आफैँलाई प्रश्न गर्नुस त्यो तारा कसले बनायो होला? त्यस तारालाई बढी चम्किने, कम चम्किने, वा बिलाउने कसले बनायो होला? त्यो भन्दा पनि बढी महत्वपूर्ण प्रश्न त्यो सबै कसरी बनाईयो होला?"
मैले भनें "कृष्ण जी, यी त अति साधारण प्रश्न भए । अबको युगमा यस्ता कुराले अल्मल्याउन सकिँदैन । अहिले मान्छेको हात हातमा मोबाईल छ, इन्टरनेट छ, गुगल छ, अझ अहिले त झन् च्याट जीपीटी पनि छ । बैज्ञानिक र खगोल शास्त्रीले यस्ता सबै कुरालाई विश्लेषण गरेका छन् । यस्ता प्रश्नको उत्तर मान्छेले चाहीसक्दा जुन सुकै बेला पनि खोज्न सक्छन ।"
उहाँले भन्नु भो "हो यहीँ नेर अलमलिनु भो नाविक जी, मैले यो प्रश्नको उत्तर खोजेको होइन कि, यी तारा मण्डल कसले बनाए वा कसरि बनाए, त्यो कुरा म आफुलाई सबै थाहा छ । मैले सोध्न खोजेको खास प्रश्न यो हो कि तपाईंले कसरी त्यो प्रश्नको उत्तर खोज्नु हुन्छ । मेरो प्रश्न तपाईंको उत्तर खोज्ने प्रक्रियाको लागी हो, न कि त्यसको उत्तरको लागी ।”
मैले भने "त्यसले के फरक पर्छ र कृष्ण जी, जसले खोजे पनि, जसरि खोजे पनि यदि कुनै कुरा सत्य हो भने त्यो सत्य नै हो। त्यसले ईश्वर हुनु र नहुनुमा के फरक पार्छ ?"
कृष्णजीले पहिले रुखको मुनि समतल ढुंगामा दाईने पट्टि ढल्केर दाईने हातको कुइनोमा आफ्नो शिरको आड लाउनु भयो। उहाँलाई त्यो आसनमा कसैले झट्ट देख्थे भने शायद कुनै फोटोमा आराम गरि रहेको भगवान श्री कृष्ण जस्तै देखिनुहुन्थ्यो होला ।
त्यसपछि अर्थ लाउन थाल्नु भो "त्यसले यसकारण फरक पर्छ कि नाविक जी, यदी तपाईं आफैँले खोज गरेर विचरण गरेर सत्यको नजिक पुग्नु हुन्छ भने त्यसको अर्थ तपाईंमा चेतना छ। तपाईमा कुनै कुराको बिशेषता, सङ्केत र लक्षणहरु पहिचान गर्ने क्षमता छ। अनि पहिचान गरिएका ती बिशेषताहरूको समानता र भिन्नताको सारांश निकाल्न सक्ने पनि तपाईमा क्षमता छ । त्यसलाई आई क्यु भन्छन क्यारे शायद, तपाईको भाषामा"
मैले होमा टाउको हल्लाएँ ।
उहाँले थप्नु भो "हो, अब बिर्सी दिनुस् हामी यस जंगलमा छौँ , यो कुरा पनि बिर्सी दिनुस् कि म तपाईंको सामुन्नेमा छु, अनि आँखा चिम्म गर्नुस् ।"
मैले त्यसै गरें ।
"अनि अब एकछिन सम्म आँखा चिम्म गरेर आफैंले आफैंलाई हेर्नुस ।”
"आँखा चिम्म गरेर आफुलाई कसरि हेर्ने कृष्ण जी"
"आँखा चिम्म गरेर आफुलाई आफ्नो नामले बोलाउनुस। मनमनै कराएर बोलाउनुहोस्। आफुले आफैंलाई प्रश्न गर्नुस - नाविक तँको होस् ?"
मैले भने अनुसार गरें । केहि उत्तर आएन।
"कृष्ण जी, जवाफ आएन ।"
उहाँले थप्नु भो "फेरी आफूले आफैंलाई महशुस गर्ने प्रयास गर्नुस्, हतार नगर्नुस, समय लगाएर महशुस गर्नुस। आफैलाई नाम किटेर प्रश्न सोध्नुस् - तँ को होस ?"
मैले ५-७ मीनेट सम्म भने अनुसार गरें। काहिँ बाट केहि जवाफ आएन ।
“सबै गरें कृष्ण जी यसले केहि जवाफ दिएन।”
“कसले जवाफ दिएन ?” उहाँले सोध्नु भयो ।
मैले अनकनाउँदै भने "शायद मेरो अन्तरआत्माले दिएन"
त्यसको अर्थ तपाई एक्लै हुनुहुन्न नाविक जी। तपाईंहरु दुई जना हुनुहुन्छ। एक जना प्रश्न सोध्ने तपाईं, अर्को एक जना उत्तर नदिने तपाईं।
“त्यसले उत्तर दिएको भए चैं के फरक पर्थ्यो?” मैले सोधेँ
"त्यसले फरक केहि पनि पार्दैन नाविक जी, सबैले त्यति सजिलै जवाफ पनि पाउँदैनन्"
“अन्तरआत्माबाट जवाफ आउनु र नआउनु अनि ईश्वर हुनु र नहुनुमा चैं के सम्बन्ध रह्यो त ?” म आफ्नो मूल प्रश्नमा अडिग रहेँ।
“नाविक जी, अव तपाई आफैं चेतना र अन्तरआत्माको अस्तित्वको बिषयमा प्रष्ट भै सक्नु भो; अव भन्नुस्, यो धर्तिमा कुन यस्तो बस्तु छ जसमा मान्छेले आफैँ प्रकृतिको सहयोग बिना जीवन र चेतना दुवै दिन सकेको छ ?”
कृष्ण जीले थप्नु भो "ईश्वरको अस्तित्व छ, त्यै कारण हामी सबै यहाँ छौं"
अनि अलिक बिशेष जोड दिएर भन्नु भयो - “हामीहरु सबै मध्ये म चाहिँ अलिक खास छु, किन भने कृष्णको रुपमा आफैं म भगवानकै एक अंश हूँ । त्यस अर्थमा म आफैं भगवान पनि हुँ ।”
मेरो दिमाग एकछिन रन्थनायो । आँखा धमिलो भए जस्तो भयो। कानमा आफैँ कुनै एकोहोरो आवाज टूँ गरेर बज्न थाल्यो । आजै भर्खर जंगलमा भेटिएका र परिचयमा कृष्ण मात्रै नाम बताएका एक मानिसले आफुलाई भगवान भन्दै थिए।
एकछिन पछि म सम्हालिएँ ।
त्यसको निमेष भरमै "सुइय" गर्दै कुनै बस्तु मेरो कानै छेउबाट उडेर गयो । जस्तो कि बन्दुक पड्केर गोलि कानै छेउ हुँदै गएको छ। बन्दुक पड्केको आवाज त आएको थिएन, गोलीले हावालाई छेडेर गएको दबाबको कम्पनको ध्वनि थियो शायद त्यो ।
त्यस पछि आखाँ अगाडी कृष्ण जीलाई देखें । वहाँको देब्रे खुट्टामा तीर लागेर रगताम्य भएको थियो । अनि बुझेँ अघिको “सुईय” आवाज त कुनै धनुष बाट निक्लेको तीरको रहेछ । मैले यसो दायाँ बायाँ हेरेँ। त्यहाँ कोहि पनि थिएन।
कृष्णजीको खुट्टाबाट धारा प्रबाह रगत बगी रहेको थियो । उहाँ बिस्तारै लोलाउँदै जानु भएकोको थियो । मलाई लाग्यो शायद हाईपो-भोलिमिया भएर उहाँको ब्लड प्रेसर बिस्तारै घट्दै गई रहेको थियो, अनि त्यसको असर उहाँको लोलाएको आँखा र धिमा हुँदै गएको रिफ्लेक्सनमा देखिँदै थियो । भर्खरै आफैंलाई भगवान भन्ने कृष्ण जीको शरीरले साथ छोड्दै गएको प्रष्टै देखिन्थ्यो । तुरुन्तै अस्पताल नलागे ज्यान नजोगिने तय नै थियो । मलाई आफ्नो मेडिकल अनुभवले भन्यो कि उहाँलाई कम्तिमा पनि २-३ पोका ब्लड ट्रान्सफ्युजन, अक्सिजन, र गढेको तीर झिक्नलाई सर्जरीको वा कम्तिमा ब्लड लस रोक्नलाई प्रेसर ड्रेसिङ्गको तुरुन्तै जरुरत थियो । तर भगवान पनि मर्ने, कहिँ त्यस्तो पनि हुन्छ र ? यो कुराले चाहिँ अलिकति सोचमग्न बनाएको थियो।
जुन तवरले तीरले खोपेको थियो, र जसरि रगत बगेको थियो त्यो देख्दा लाग्थ्यो पिडा अत्याधिक हुनु पर्ने हो । तर खै किन हो उहाँले दुखे पनि नदुखे जस्तो गर्नु भो। उहाँ ढल्केकै स्तिथिमा मुसुमुसु हाँसी रहनु भएको थियो। मलाई भन्न पनि मन लागेको थियो "यो के चाला हो कृष्ण जी, भगवान हुनु र भगवान हुँ भन्नु फरक कुरा हुन् । आफुलाई भगवान मान्दैमा ज्यान नजाने होइन। यस्तो बेला अलिकति सिरियस हुनु पर्छ।" तर वहाँको नाजुक परस्थिति देखेर भनिन।
तर मनमा तुष भने रही रह्यो। त्यत्रो बाणले खुट्टा छिया छिया पार्दा पनि किन वहाँलाई दुखेन। के वहाँले कुनै पेनकिलर खानु भएको थियो । तर पेन किलर त्यतिकै खाएर को हिंड्छ र ? कि वहाँलाई अरुकुनै दुख्ने खालको बिरामी छ । प्रायलाई ढाड दुख्ने, हात खुट्टा जोर्नी दुख्ने त अचेल नर्मल नै भयो। त्यै भएर बिहानै पेन किलर खाएर हिँड्नु भएको थियो होला कि ? कि कुनै गाँजा भांग धतुरो खानु भएको थियो ? त्यस्तो त होइन होला । कुरा गर्दा त वहाँको बोलीचाली नर्मल नै सुनिन्थ्यो । कि वहाँ साच्चिकै भगवान नै हो, त्यै भएर दुखेको अनुभूति नभएको हो ? मन भरि कुरा खेल्यो ।
फेरी अर्को मनले भन्यो, बाटो घाटोमा त जो सुकै भेटिन सक्छन । कोहि कोही मान्छेलाई अलिक गफ दिएर बोल्ने स्वभाव हुन्छ । त्यसैले कसैले केही भनि हाल्यो भने कुरा खास नबुझी पत्याई हाल्नु पनि हुँदैन। त्यसमाथि मान्छेले बाहिर खोल्न नचाहे पनि मानसिक समस्या त हाम्रो समाजमा धेरै छ । डिप्रेसन, एञ्जाईटी जस्ता सामान्य कुरालाई पनि मान्छेले आफ्नो ईज्जत प्रतिष्ठा सँग जोडेर हेर्छन। सके सम्म लुकाउन खोज्छन। डिलुसन, हेलोसुनेसन त धेरै परको कुरा भो । कि कृष्ण जीलाई ‘डिलुसन अफ ग्रान्डुअर’ भएको भएको छ ? मैले आफैं कतिपय बिरामी भेटेको छु, जो कोहि कोहि आफुलाई राष्ट्रपती, प्रधानमन्त्री भन्छन भने त कोही चलचित्रको नायक, नायीका । के कृष्णजीलाई पनि यस्तै कुनै बिमारी छ ? र आफैंले आफैंलाई भगवान हुँ भनि रहनु भएको छ ?
यस्तै सोचाईले म एकछिन टोलाएँछु। पर नेपथ्यबाट कोहि हस्यांग फस्यांग गर्दै आउँदै गरेको आवाजले म झसंग भएँ र आवाज आएको दिशा तर्फ टाउको मोडें। त्यहाँ कुनै मध्य युग वा प्राचिन युग कालिन शिकारीको जस्तो भेषमा सजिएको एउटा मान्छे हामी भए तिरै हस्यांग-फस्यांग गर्दै दगुर्दै आउँदै थियो । उसको लुगा लगाई, काँधमा भिरेको धनुष, अनि पिछडी बोकेको बाणले भरिएको तूणीर देख्दा लाग्थ्यो यो मान्छे भर्खरै कुनै रामायण वा महाभारतको नाटकको सेटबाट भागेर आएको छ। नाटकमा कुनै शिकारीको रोल गरेको हुनु पर्छ।
हामी छेउमा आईपुगे पछि सबै भन्दा पहिले त उसले घुँडा टेकेर कृष्ण जीलाई नमस्कार गर्यो अनि धरधरी आँसु झार्दै माफी माग्न थाल्यो ।
"प्रभु, मैले त पर बाट हेर्दा हरिण जस्तो लागेर धनुष चलाएको थिएँ । त्यो त हजुरको पाउ रहेछ भगवान । यो पापी शिकारी जरालाई माफ गरिदिनु होला । म बाट भुलबस ठुलो अनर्थ हुन गयो।"
त्यसो भन्दै गर्दा उसको हात थरथर काँपी रहेको प्रष्टै देखिन्थ्यो। मलाई गजब लाग्यो। डराउनु वा माफी माग्नु सम्म त ठिकै हो । यो मान्छेले कृष्णजीलाई किन भगवान भनेर सम्बोधन गर्दै छ ? के यस ठाउँमा सबैले कृष्णजीलाई भगवान भनेरै चिनेका छन् ?
त्यो सोचाईलाई एकछिन थाँती राखेर एकछिन घाइते कृष्ण जीको गम्भीरता माथी ध्यान गयो।
अनि मैले शिकारी लाई हेर्दै भनेँ "यो के गर्नु भो सर यस्तो, तीर हान्दा पनि हेरेर हान्नु पर्छ नि । मान्छेको ज्यान नै लिने गरि लापरवाही गर्ने ? उहाँलाई साँच्चिकै तल माथि पर्यो भने को जिम्मेवार हुन्छ ?"
उसले मलाई सुनेको नसुने झैँ गर्यो।
मैले थपें "लापरवाहीको पनि हद हुन्छ नि यार । अब चाँडै हस्पिटल लाने प्रबन्ध गर्नु पर्छ।"
मैले मेरो गोजी छामी हेरें, मेरो गोजीमा मोबाईल फोन थिएन।
अनि थपें "ल तपाईको फोन ल्याउनुस, म कल गर्छु एम्बुलेन्स।"
उसले अझै पनि मलाई देखेको नदेखै र सुनेको नसुनै गर्यो ।
त्यस पछि कृष्ण जीले म तिर हेर्नु भयो अनि मुसुक्क हाँस्नु भयो, अनि फेरी जरा तिर दृष्टि दिँदै भन्नु भयो:
“आफ्नो कर्मको नियति सबैले भोग्नै पर्छ शिकारी जरा। त्यो तीर तिमीले लापरवाहीले हानेका थिएनौ। त्यो मेरो कर्मको फल थियो। त्रेता यूगमा मैले रामको अवतार लिएको थिएँ। त्यो बेला तिमी किष्किन्धाका राजा बाली थियौ। तिमी र तिम्रो भाइ सुग्रिबको युद्ध हुँदा मैले सुग्रिबको पक्ष लिँदै लुकेर बाण प्रहार गरि तिम्रो हत्या गरेको थिएँ । त्यो समयको माग भए पनि लुकेर प्रहार गर्नु एक किसीमको गलत कर्म नै थियो। आज मैले तेसैको फल पाएँ । कोही पनि आफ्नो कर्मको फलबाट भाग्न सक्दैनन् । भगवानले पनि आफ्नो कर्मको फल भोग्नु पर्छ, शिकारी जरा ।”
कृष्ण जीको कुराले मलाई हेरेको हेरै बनायो।
उहाँले थप्नु भो "मेरो कर्मको बन्धनबाट मुक्त हुन मैले तिम्रै प्रतिक्षा गरि रहेको थिएँ जरा। धन्दा नमान, तिमीले कुनै पाप गरेको छैनौ । तिमीले नियति अनुसार जे गर्नु पर्थ्यौ त्यै गर्यौ।”
म केही बोल्न खोज्दै थिएँ मेरो बोलि नै निक्लेन। शिकारीभेषको जरा जोड जोडले रुँदै कृष्ण जीको गोडै नेर शीर झुकाएको थियो।
त्यसपछि आकाशमा भयङ्कर गड्याङ्ग गुडुङ्ग गर्न थाल्यो। हामी भए ठाउँ बाट माथि आकाश तर्फ एउटा ठुलो प्रकाशको बाटो निल्कियो । लाग्थ्यो त्यो बाटो नछोडी जाँदा स्वर्ग सम्म पुगिन्छ । त्यसपछि हेर्दा हेर्दै कृष्ण जी आफ्नै शरीरबाट बाहिर निक्लिनु भयो। भुईमा सुतेका घाईते कृष्ण अनि बाहिर निक्लिएका नयाँ कृष्ण, कृष्ण जी एकै पटक दुईटा देखिनु भो, कस्तो अचम्म । तेस्को एकछिनमा नयाँ निक्लिएको कृष्ण बिस्तारै गायब हुनु भो | चारै तिर एकाएक अँध्यारो छायो। चिसो ह्वात्तै बढेर आयो। जिउ लुगलुग काँप्न थाल्यो । मलाई कलि जुग नै लागे जस्तो भयो।
भगवान पनि मर्ने यो कसरि सम्भब छ र ? तर यदी कृष्ण मरेका छैनन् भने फेरी मेरो सामुन्ने रहेका कृष्ण जी को प्राण बिहिन शव, यो के हो ? अनि यदी उनको मृत्यु नै भएको हो भने हामीले यत्रो बर्ष पुजा गरेका भगवान श्री कृष्ण को हुन् ? के हामीले जिन्दगी भर पूजा गरेका कृष्ण र यी भुईमा लडेका प्राण बिहिन कृष्ण एउटै व्यक्ति हुन् ? कि उनि कृष्ण नामका अर्कै व्यक्ति हुन् ? यो के भइ रहेको छ मैले केहि बुझ्नै सकिन।
हाम्रो वरिपरि मधुरो प्रकाश थियो। मैले भुइँमा रहेका कृष्ण जीलाई हेरें। देब्रे खुट्टाको गोलीगाँठो छेउमा गडिएको त्यो तीरको मार यस्तो गहिरो थियो कि उहाँको खुट्टामा लागेको तीर मेरो छातीमा चसक्क बिझे झैं भयो। त्यसको एकछिन पछि मैले महसुस गरें कि त्यो तीर खै कसरि हो बिस्तारै मेरो दाहिने फोक्सोमा सर्यो, अनि फेरी कलेजोमा सर्यो । एकछिन त अत्तालिएँ, तीर कृष्ण जीलाई लागेको हो कि मलाई ? कि शिकारी जराले मलाई पनि शिकार बनायो ? त्यसपछि मेरो जिउ हल्का कामे जस्तो भयो ।
कृष्णजीलाई लागेको तीरले मलाई किन यस्तो भयो भनेर सोच्दै मात्रै थिएँ, बाहिरबाट कुनै आवाज आयो र म झसंग बिउँझिएँ । आँखा खुल्दा छेउ मै मेरो सानो छोरा थियो। उ मलाई बिस्तारै हल्लाउँदै “बाबा बाबा” भन्दै बोलाएर बिउँझाउन खोज्दै थियो । अनि जिस्किदै आफ्नो कोमल चोरी औंला बेला बेला एताउता मेरो शरीरमा घोच्दै पनि थियो। उ बेला बेला छातीको देब्रे पट्टि बिस्तारै च्वास्स घोच्थ्यो, बेला बेला दाहिने पनि अनि नाईको छेउ घोच्थ्यो। आफ्नो आँखा कै सामुन्ने उसको अबोध अनुहार देखेर एकछिन त अवाक भएँ। अनि फेरी ढुक्क पनि भएँ कि, जे देखेथे त्यो सबै सपना रहेछ । उसको कोमल औलाले जिउमा छुँदा कता कता काउकुति लागे जस्तो भयो। छोरोलाई मुसुक्क हाँसेर कसेर अँगालो हालें । अनि निधारमा म्वाईं खाएँ।
(महाभारत पर्व १६, मौसला पर्व)