जाग जाग अब - धरणीधर कोइराला

जाग जाग अब जागन जाग ।

लाग उन्नतिविषे अब लाग ।।

घोर नींद अब ता परित्याग ।

भो भयो अति सुत्यौ अब जागे ।।


दाजुभाइहरु हो ! उठ जाग ।

लाग उन्नतिविषे अब लाग ।।

धोउ धोउ मनको अब मैलो ।

फालिदेउ डरको अब थैलो ।।


जाग जाग अब जागन जाग ।

लाग उन्नतिविषे अब लाग ।।

हेर लै अरुहरु सब जागे ।

जाति उन्नतिविषे अब लागे ।।


हामिहेरु पनि लौ अब जागौं ।

जाति उन्नतिविषे सब लागौं ।।

घोर नीद अब ता परित्यागौं ।

भो भयो अति सुत्यौं अब जागौं ।।


लाज की कि खुशी की ममता की ।

क्यै न क्यै त मनमा अब डाकी ।।

जाति प्रेम न गरिकन हुन्न ।

हात बाँधि यसरी अब हुन्न ।।


लाजले कि खुशिले जनताले ।

जाति-भक्ति नगरि कहिंकाले ।।

जाति-उनन्ति कसै गरिएको ।

छैन भाइहरुहो ! सनिएको ।।


फुट फाट छल छाम र काम ।

यी बुझी कपटका परिणाम ।।

त्यागनू कपट यो अब जाति ।

अन्यथा सब बुझ्यो बुझ जाति ।।


आर्य गौरव कहाँ रहि जाला ।

पुत्र पौत्रहरुको कुन हाला ।।

हो हुने सब विपार गरौं लौ ।

धर्म कर्म तिर चित्त धरौं लौ ।।


स्वार्थ-त्याग तिर चित्त लगायौं ।

शास्त्र-पाठ पढि ध्यान घुमावौं ।।

स्त्री-युवा सब मिली अब लागौं ।

जाति-उन्नति विषे अब लागौं ।।


बेर धेर अझ हो कति गर्ने ?

रीस डाह गरि नै कति मर्ने ?

प्रेमको अब उधारी पिटारी ।

जाति-धर्म खुद आफु सह्यारी ।।


अन्य जातिहरुका अब दाँजा ।

लागने समय भो बुझ ताजा ।।

दाजु भाइहरु हो ! उठ जाग ।

लाग उन्नति विषे अब लाग ।।


घोर नींद अब ता परित्याग ।

भो भयो अति सुत्यौ अब जाग ।।

जाग जाग अब जागन जाग ।

लाग उन्नति विषे अब लाग ।।


लाज भो अरुहरु अघ जाने ।

हामीहेरु रहने रइथाने ।।

हामीहेरु पनि मानिस नै हौं ।

के भएर निसपट्ट भए छौं ?


जे भए पनि भयो अब भैगो ।

वितनु हो जति थियो वितिगैगो ।।

खोल लौ नयन खोल न खोल ।

फालछौ किन ? नफालन काल ।।


धर्म-शास्त्र पढ चित्त सपार ।

सभ्य चाल चल जाति सुधार ।।

जाग जाग अब जाग न जाग ।

लाग उन्नति विषे अब लाग ।।


~ धरणीधर कोइराला ~

Dharanidhar Koirala