तरुण तपसी - लेखनाथ पौड्याल

म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि
(तरुण तपसी 18/28)

                    ***

न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज। तिमिले जीवन किन?।। 
(तरुण तपसी 6/4)

                    ***

न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञाबल, न त कुनै शान्ति मनमा।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति।।
(तरुण तपसी 11/14)


~ कविशिरोमणि लेखनाथ पौड्याल ~
Kabi Shiromani Lekhnath Paudyal

तरुण तपसी नव्यकाव्यको प्रथम प्रकाशन वि.सं.२०१० सालमा भएको थियो। यो काव्य १९ विश्राममा विभाजित गरिएको छ । यसमा प्राय श्लोकहरु शिखरिणी छन्दका छन् । भने प्रत्येक विश्रामको प्रारम्भमा वियोगिनी छन्द र अन्त्यमा मालिनी छन्दको प्रयोग गरिएको छ।