करोडौँमा एक हुने चाहनामा,
अनि लाखौँमा एक हुने आशामा,
अनि फेरी हजारौँमा एक हुने प्रयासमा,
तिमी आफुमा आफु हुन सकी रहेका छैनौँ।
ए अबुझ प्राणी,
अनि यो गलफत्ती केको लागी?
तिमी त ती बाँकी -
उनान्सय लाख, उनान्सय हजार, नौ सय, उनान्सय आत्माहरु मध्ये,
फगत एक आत्मा हौ!
एक साधरण आत्मा!
न तिमीले ईतिहाँस लेख्ने छौ,
न बदल्ने छौ दुनियाँ।
न कुनै बिशेष योगदान रहने छ दुनियाँमा तिम्रो।
न सम्झीइने छ तिमीलाई कुनै कारणले,
तिमी त बिर्सीइने पनी छैनौ।
तिमी बस् बिलाउने छौ।
पानीको एक थोपा समुन्द्रमा मिँसिदा अस्त्तित्व बिहिन भए झैँ!
हावाको एक झोंका हुरीमा मिसिंदा प्राण बिहिन भए झैँ!
तिमी मेटिने छौ, यत्तिकै यत्तिकै
त्यसो भए,
ए मुर्ख मानुष!
किन भाग्छौ प्राप्तिको पछि?
अनि फेरी केको प्राप्ती?
यदी त्यो करोडौंमा एक आत्मा तिमी होइनौ भने,
यो ब्यर्थको भागदौड केको लागी?
ए अबुझ प्राणी,
छोडी देउ यी ब्यर्थका प्रयासहरु,
अनि रमाउ आफु भित्र आफैँ।
हेर त फूलहरू फुली रहेका छन्
चराहरू उडी रहेका छन्
त्यसो त तिमी सँधै भन्ने गर्छौ
"फूलहरू हिजो पनि फुलेका थिए
चराहरू हिजो पनि उडेका थिए। "
आज खुल्ला मनले राम्ररी हेर,
ती फुलेका फूलहरूमा आज नयाँ सुगन्ध पाउने छौ।
ती उडेका चराहरूमा आज नयाँ उचाई पाउने छौ।
भो छोडी देउ यी ब्यर्थका प्रयासहरू !!!