म मान्छे हुँ,
म सँग शब्दको कमी छैन,
म हरेक परिस्थितिलाई आफ्नो हिसाबले तुष्टिकरण गर्न सक्छु,
अनि हरेक समयलाई आफ्नो हिसाबले नामकरण गर्न सक्छु !
अब भन,
तिम्रो बेवास्तालाई म जलन भनौँ कि,
वा तिम्रो चासोलाई म चिपकु भनौँ !
अनि तिम्रो मुस्कानलाई म नक्कलीको लेप लगाईदिउँ की,
वा तिम्रो दु:खलाई काल्पनिकको भेष पहिन्याई दिउँ !
तिम्रो उडानलाई निष्प्रयोजनको संज्ञा दिउँ कि,
वा तिम्रो थकानलाई बनावटीको जामा भिराई दिउँ !
तिम्रो उपलब्द्यिलाई व्यर्थको नाम दिउँ कि,
वा तिम्रो नाकामीलाई स्वाभाविकको सम्मान दिउँ !
शताब्दी नै नभए पनि
अनेकौँ दशकको जीवन अनुभव तिमी जस्तै ममा पनि छ,
र त्यो अनुभवले यो भन्छ,
“हर! हर! महादेव!!!”