मिलन नाविक
छन्दको मूल ग्रन्थ छन्दःसूत्रम् (छन्दशास्त्र) हो | आचार्य पिंगल मुनिले अनुमानित ई.पु.४०० - ई.पु. २०० मा यसको रचना गरेका हुन्। त्यस पछि पनि छन्दको बिषयमा थुप्रै किताबहरु लेखिए पनि पिंगलकै नामबाट छन्दलाई पिंगल छन्द पनि भन्ने गरिन्छ।
नेपाली साहित्यमा छन्दको प्रयोग निकै पहिले देखि प्रयोग भएको हो । शार्दूलविक्रीडित छन्दमा रहेको "एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी" भन्ने आदिकविबाट लिखित रामायणमा भएको श्लोक नेपाली जनजिब्रोमा पहिले देखि नै बसेको हो।
छन्द दुई प्रकारका हुन्छन: वर्णिक र मात्रिक। मात्रिक छन्दले प्रत्येक लाईनमा हुने मात्राको कुल संख्यामा ध्यान दिन्छ। वर्णिक छन्दले मात्राको संख्याको साथ साथै कुन क्रममा ह्रश्व वा दीर्घ लेख्ने त्यो पनि ध्यान दिन्छ । नेपाली साहित्यमा वर्णिक छन्दको बढी प्रयोग भएको देखिन्छ।
सामान्यतया तिन वटा बर्ण मिलेर गण बन्छ । गण/बर्णहरु जोडेर बर्णिक छन्द बन्छ ।
यमाताराजभानसलगा
यगण - यमाता 122
मगण - मातारा 222
तगण - ताराज 221
रगण - राजभा 212
जगण - जभान 121
भगण - भानस 211
नगण - नसल 111
सगण - सलगा 112
मात्रा कसरि गणना गर्ने ?
(१) ह्रश्व, लघु (1,।): क, ख, ग, घ, अ, उ, इ, ऋ, इ, कँ (चन्द्रबिन्दु), कृ
11 कर कृप
111 प्रकृति
112 गँगटा
(२) दीर्घ, गुरु (2, ऽ): आ ऊ ई - ए, ऐ, ओ, औ, अं (अनुसार, शीरबिन्दु ), अः (विसर्ग)
2 तै जी गी ले का ए रा कं
22 पाए, मात्रा, आफैँ, आधी, भन्दा, कक्षा, पत्नी, कन्या, रोऍं, प्रात:, शंका
21 एक, कंश, दु:ख
12 गए
(३)शब्दको सुरुमा आधी अक्षर भए त्यसको हिसाब हुँदैन । कुनै पुरा अक्षर पछि आधी अक्षर आए त्यो पुरा अक्षर दीर्घ बन्छ ।
* क्या - आधि "क"को हिसाब हुदैन, 'या' गुरु (2) हो
* बन्द = बन् (२), द (१)
(४) (क्र / कर्म / हलन्त) भन्दा अघि आउने अक्षर दीर्घ हुन्छन।
21 - बक्र (बक् + र) , कर्म (कर् + म)
11 - क्रम (क् 0 + र 1 + म 1)
121 - प्रसाद (प्र 1 + सा 2 + द 1)
221 - राजन् (रा + जन्)
(५ ) संयुक्त व्यंजन (श्र क्ष त्र ज्ञ) भन्दा अघि आउने अक्षर दीर्घ हुन्छन।
21 - मिश्र, कक्ष, रक्ष, सत्र, विज्ञ
* छन्दमा पाउ (चार लाईनको ) अन्तिम अक्षर ह्रश्व भएपनि दिर्घ मान्न सकिन्छ |
*रहरको मात्रा गणना गर्दा र-ह-र छुट्टा छुट्टै १११ गणना गरिन्छ। छन्द मा “र” लाई आधि अक्षरको रुपमा गणना गर्ने हो भने हलन्त दिनु पर्छ।
प्रमुख नेपाली छन्दहरु
संस्कृत साहित्यमा छन्द सयौँको संख्यामा छन् जुन ऋग्वेद बाटै सुरु हुन्छ। ति मध्ये केहि नेपालीमा पनि प्रयोग भएको देखिन्छ ।
~ छोटा छन्दहरु ~
(१) अनुष्टुप छन्द (हरेक पदमा ८ वर्ण, हरेक लाईनमा १६ वर्ण): यो संस्कृत साहित्यमा सबभन्दा बढी प्रयोग भएको छन्द हो। रामायण, महाभारत, गीता, आदीको अधिकांश श्लोक यस छन्दमा लेखिएको छ। यसमा हरेको पदको पाँचौँ, छैठौँ, र सातौँ शब्दमा लघु गुरुको नियम लाग्छ। अरु स्वतन्त्र छन्।
(श्लोके षष्ठं गुरु ज्ञेयं, सर्वत्र लघु पञ्चमम् । द्विचतुष्पादयोर्ह्रस्वं सप्तमं दीर्घमन्ययोः ।।)
हरेक पदको छैठौं अक्षर गुरु र पाँचौं अक्षर लघु, दोश्रो र चौथो पदमा सातौँ अक्षर लघु + पहिलो र तेश्रो पदमा सातौँ अक्षर गुरु
xxxx।ऽऽx / xxxx ।ऽ।x
धर्मक्षेत्रे कुरुक्षेत्रे / समवेता युयुत्सवः ।
मामकाः पाण्डवाश्चैव / किमकुर्वत सञ्जय ।
वक्रतुंड महाकाय / कोटिसूर्यसमप्रभ।
निर्विघ्नं कुरु मे देव / सर्वकार्येषु सर्वदा॥
न देख्छु दिन हाँसेको रोएको न त रात नै
न देख्छु विरही सन्ध्या न प्रफुल्ल प्रभात नै ।
न रङहरू छुट्टिन्छन् छुट्टिन्छन् न त आकृति
मेरो यो दृष्टिमा हुन्छ सबैको नै उही स्थिति ।
— घनश्याम कँडेल (धृतराष्ट्र, २०७३)
(२) वियोगिनी छन्द (१०/११ वर्ण): यस छन्दको पहिलो र तेश्रो पदमा १० वर्ण एबं दोश्रो र चौथो पदमा ११ वर्ण हुन्छन।
।।ऽ,।।ऽ,।ऽ।,ऽ
।।ऽ,ऽ।।,ऽ।ऽ,।ऽ
कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला।
मनले सब त्यो गमें पनि
फिर बोले मुसुकाउँदै मुनि।
— कवि शिरोमणि लेखनाथ पौड्याल (
तरुण तपसी १९-१)
(३) उपेन्द्रवज्रा छन्द (११ वर्ण): ज त ज. गुरू गुरू: ।ऽ।,ऽऽ।,।ऽ।,ऽऽ
त्वमेव माता च पिता त्वमेव ।
त्वमेव बन्धुश्च सखा त्वमेव।।
त्वमेव विद्या द्रविणम् त्वमेव ।
त्वमेव सर्वम् मम देव देव।।
(४) इन्द्रवज्रा छन्द (११ वर्ण): ऽऽ।,ऽऽ।,।ऽ।,ऽऽ
(५) उपजाति छन्द (११ वर्ण): इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको मिश्रण भएमा त्यसलाई उपजाति छन्द भनिन्छ।
ऽऽ।,ऽऽ।,।ऽ।,ऽऽ + ।ऽ।,ऽऽ।,।ऽ।,ऽऽ
सानी उज्याली वनबालिका ती।
हालेर जादूमय स्वप्न जाली।।
बन्थिन् तरंगीपट भाँति भाँति।
अनेक राम्रा मृदु भाव काती।।
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल ७-१)
(६) स्वागता छन्द (११ वर्ण): ऽ।ऽ,।।।,ऽ।।,ऽऽ
जाग जाग अब जाग न जाग
लाग उन्नतिबिषे अब लाग
घाेर नीद अब ता परित्याग
भाे भयाे अति सुत्याै अब जाग ।
(७) शालिनी छन्द (११ वर्ण): ऽऽऽ,ऽऽ।,ऽऽ।,ऽऽ
(८) रथोद्धता छन्द (११ वर्ण): ऽ।ऽ,।।।,ऽ।ऽ,।ऽ
एक छन् बगलमा प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी सुधा ॥
चारु चाल चपला यता जुदा ।
चारु छन् तरुणभाववैभवा ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल १२-१९)
~ मध्यम छन्दहरु ~
(१) तोटक छन्द (१२ वर्ण): तोटक छन्दको प्रत्येक चरणमा चार वटा सगण हुन्छ।
।।ऽ,।।ऽ,।।ऽ,।।ऽ
अति सुन्दर मानव-जीवन यो
अझ सुन्दर पार्नु कसो गरि हो ?
गरि काव्य-सुधा रसपान अरे
गर मानव-जीवन सार्थक रे ॥
—
धरणीधर कोइराला (साहित्यसुधा)
सुन बादल भो सुन सुर्य भए
सुरद्वार खुल्यो सुनको नभमा
सुनको भव भो सुनको जलले
सुर तार बजाउँछ कल्कलले
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल ३-१)
(२) भुजंगप्रयात छन्द (१२ बर्ण): चार ओटा यगण मिलेर भुजंगप्रयात छन्द बन्छ । यो छन्द गजलमा प्रचलित बहर "मुतकारिब मुसम्मन सालिम" सँग मिल्दछ जसमा फऊलुन् (१२२) रुक्नको चार पटक आवृत्ति हुन्छ ।
।ऽऽ,।ऽऽ,।ऽऽ,।ऽऽ
(३) स्रग्विणी छन्द (१२ वर्ण): चार वटा रगण मिलेर स्रग्विणी छन्द बन्छ। यो छन्द गजलमा प्रचलित बहर "मुतदारिक मुसम्मन सालिम" सँग मिल्दछ जसमा फाइलुन् (२१२) रुक्नको चार पटक आवृत्ति हुन्छ ।
ऽ।ऽ,ऽ।ऽ,ऽ।ऽ,ऽ।ऽ
घामको उष्णता चम्किँदा मुस्किने ।
फूलका मुस्मुसे शान्त जादूहरू ॥
चक्षुमा बालको पस्दथे सुस्तरी ।
ओठ आनन्दले सुस्त मुस्काउन ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल ६-२)
(४) द्रुतविलम्बित छन्द (१२ वर्ण)
।।।, ऽ।।,ऽ।।,ऽ।ऽ
(५) वंशस्थ छन्द (१२ वर्ण): जगण, तगण, जगण, रगणको मिश्रण बाट वंशस्थ छन्द बन्दछ। यस प्रत्येक हरफमा जम्मा १२ वर्ण हुन्छन्।
।ऽ।,ऽऽ।,।ऽ।,ऽ।ऽ
अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन् लहराहरू हरा ॥
नसा कलेजा छ र पात मञ्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन् हलुका र बान्किला ।
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल १२-१)
(६) ललिता छन्द (१२ वर्ण):
ऽऽ।,ऽ।।,।ऽ।,ऽ।ऽ
(७) प्रहर्षिणी छन्द (१३ वर्ण): यो छन्द हरेक हरफमा मगण, नगण, जगण, रगण र एक गुरु वर्ण मिलेर जम्मा १३ वर्ण हुन्छन । यसको तेश्रो र दशौँ वर्णमा यति (विश्राम) हुन्छ ।
आँखाको चमक बनेर शब्द झर्थे ।
ती टिप्दा दृग नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
झल्काले विवरणसाथ अर्थ लिन्छन् ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल १६-७)
(८) मञ्जुभाषिणी छन्द (१३ वर्ण):
।।ऽ,।ऽ।,।।ऽ,।ऽ।,ऽ
(९) वसन्ततिलका छन्द (१४ वर्ण):
ऽऽ।,ऽ।।,।ऽ।,।ऽ।,ऽऽ
पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती
मीठो कथा छ विधुको मुख, दिव्य रोटी
भाषा बुझिन्छ खगको अनि नाटकीय
त्यो बाल्य स्वर्ग छ अहो ! सहजै स्वकीय
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल ७-१६)
(१०) मालिनी छन्द (१५ वर्ण):
।।।,।।।,ऽऽऽ,।ऽऽ,।ऽऽ
अबुझ मनुजको यो मर्म वा दर्द खोली ।
मुनिवर चुप लागे वाक्य अर्को नबोली ॥
श्रुतियुगबिच बग्दो दिव्य पीयूषधारा ।
फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥
— कवि शिरोमणि लेखनाथ पौड्याल (
तरुण तपसी ९-३४)
प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम बल यही हो आर्यहृद्को उज्याला ॥
कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य ।
सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल २-९)
(११) चित्रवतीहरिणी छन्द (१५ वर्ण, ८ वर्णमा यति):
~ लामा छन्दहरु ~
(१) पञ्चचामर छन्द (१६ वर्ण, ८ वर्णमा यति): यस छन्दको प्रत्येक चरणमा १६ वर्ण हुन्छन जसको ८ वर्णमा यति हुन्छ। पञ्चचामर छन्द 'ज र ज र ज + गुरु' गणबाट बन्दछ । यो छन्द गजलमा प्रचलित बहर "बहरे हजज मुसम्मन मकबुज" सँग मिल्दछ जसमा मुफाइलुन् (१२१२) रुक्नको चारपटक आवृत्ति हुन्छ ।
।ऽ।ऽ।ऽ।ऽ / ।ऽ।ऽ।ऽ।ऽ
जटा टवी गलज्जलप्रवाह पावितस्थले
गलेऽव लम्ब्यलम्बितां भुजंगतुंग मालिकाम्।
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं
चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम् ॥
— शिव ताण्डव स्तोत्रम् (१)
म छेउको पहाडमा / विशाल जो गुफा थियो ।
बिडाल बस्छ सोच्दथेँ / हुँडार रूप देखियो ॥
म सिंह मस्त नीदको / नियाल्छु धारिला छुरा ।
नझस्क है नझस्क है / नझस्क लिम्पियाधुरा ॥
—हिरा भट्ट
(२) माधवमालती छन्द (१६ वर्ण):
ऽ।ऽऽ,ऽ।ऽऽ,ऽ।ऽऽ,ऽ।ऽऽ
(३) विद्युन्माला छन्द (१६ वर्ण):
ऽऽऽऽ,ऽऽऽऽ,ऽऽऽऽ,ऽऽऽऽ
(४) मन्दाक्रान्ता छन्द (१७ वर्ण): यस छन्दको प्रत्येक चरणमा १७ वर्ण हुन्छन जसको चौथो, दशौँ, र सत्रौँ अक्षरमा विश्राम हुन्छ।
ऽऽऽ,ऽ।।,।।।,ऽऽ।,ऽऽ।,ऽऽ
मेरा प्यारा सखि विपिनका वल्लरी वृक्षसारा ।
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुखदुःख भरी भाव, सम्झे मलाई।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु ऐले विदाई ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल १९-६३)
(५) शिखरिणी छन्द (१७ वर्ण): यस छन्दको प्रत्येक चरणमा १७ वर्ण हुन्छन जसको छैठौं तथा एघारौँ वर्णमा विश्राम हुन्छ।
।ऽऽ, ऽऽऽ,।।।,।।ऽ,ऽ।।,।ऽ
म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि
— कवि शिरोमणि लेखनाथ पौड्याल (
तरुण तपसी १८-२८)
(६) पृथ्वी छन्द (१७ वर्ण): पृथ्वी छन्द जगण,सगण,जगण,सगण,यगण र एक लघु तथा एक गुरु मिलेर बन्दछ। यस छन्दको प्रत्येक चरणमा १७ वर्ण हुन्छन जसको ८ र १७ वर्णमा यति अर्थात् विश्राम हुन्छ।
।ऽ।, ।।ऽ, ।ऽ।,।।ऽ,।ऽऽ, ।ऽ
छ बैंस वन, बागमा प्रकृतिको हरा भागमा ।
वसन्त छ परागमा, विगहका गला रागमा ॥
प्रशाख तरु रम्य छन् हरित रंग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल महाकाव्य ९-१)
(७) चित्रलेखा छन्द (१८ वर्ण): चित्रलेखा छन्द मगण, भगण, नगण, यगण, यगण, यगण मिलेर बन्दछ। यस छन्दको प्रत्येक चरणमा १८ वर्ण हुन्छन जसको ४ र ११ वर्णमा विश्राम हुन्छ।
ऽऽऽ, ऽ।।, ।।।, ।ऽऽ, ।ऽऽ, ।ऽऽ
(८) शार्दूलविक्रीडित छन्द (१९ वर्ण): नेपाली भाषामा सबै भन्दा चर्चित छन्द शार्दूलविक्रीडित छन्द हो। यस छन्दको प्रत्येक चरणमा १९ वर्ण हुन्छन जसको १२ र १९ वर्णमा यति अर्थात् विश्राम हुन्छ।
ऽऽऽ, ।।ऽ, ।ऽ।, ।।ऽ, / ऽऽ।, ऽऽ।,ऽ
एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा, खूसी गराया पनी ॥
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसै ॥
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिपो, लगो, मिति पुगो टारेर र्टर्दैन त्यो
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पावनमा देखी फुलेकी लता ॥
बिर्से झैँ "भन को तिमी" यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुम्बन ॥
— महाकवि लक्ष्मीप्रसाद देवकोटा (शाकुन्तल महाकाव्य १-१)
(९) स्त्रग्धरा छन्द (२१ वर्ण): यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग हुन्छ। यस छन्दको प्रत्येक चरणमा २१ वर्ण हुन्छन जसको ७ र १७ वर्णमा विश्राम हुन्छ। चित्रलेखा छन्दको पहिलो र दोश्रो गणको बिचमामा "रगण" थप्दा यो छन्द बन्दछ।
ऽऽऽ, ऽ।ऽ, ऽ।।, ।।।, ।ऽऽ, ।ऽऽ, ।ऽऽ
कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो,
कालो सौदामिनीको चहक सब, शरच्चन्द्रको कान्ति कालो,
कैलाश श्रेणि कालो झलमल गर्ने सूर्यको विम्ब कालो,
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो ॥
— लेखनाथ पौड्याल (लालित्य भाग १, सत्य सन्देश)